नेपालको उत्तरी सीमानामा अवस्थित हिमाल पारिको जिल्ला मुस्ताङ प्रकृतिको अनुपम उपहार हो। मुक्तिनाथ धामको पवित्रता, लोमान्थाङको ऐतिहासिक दरबार, हजारौँ वर्ष पुराना गुफाहरू र मरुभूमीतुल्य अनौठो भौगोलिक बनावटले मुस्ताङलाई विश्वभरिका पर्यटकका लागि सपनाको गन्तव्य बनाएको छ। आँखैअगाडि मुस्कुराउने निलगिरि, अन्नपूर्ण र धौलागिरि हिमालको मनोरम दृश्यले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउँछ। हिउँदको यो मौसममा त सेताम्मे हिउँको च्यादर ओढेको मुस्ताङ झनै स्वर्गजस्तै सुन्दर र जादुमयी देखिन्छ। नेपाल सरकार र स्थानीय तहले सडक स्तरोन्नतिमा गरेको प्रयासका कारण अहिले काठमाडौँ, पोखरा लगायतका शहरबाट मुस्ताङ पुग्न पहिलेभन्दा धेरै सहज र सुविधाजनक भएको छ। बेनी–जोमसोम सडकको विस्तारसँगै अहिले पर्यटकहरू आफ्नै निजी गाडी वा मोटरबाइकमा पनि सजिलै मुस्ताङ पुगेर शीतकालीन सौन्दर्यको आनन्द लिन सक्छन्। जोमसोममा सञ्चालित आधुनिक होटल, लज र होमस्टेहरूले पर्यटकलाई हार्दिक आतिथ्यका साथ स्थानीय परिकार र आधुनिक सुविधा प्रदान गरिरहेका छन्। मुक्तिनाथ मन्दिर वरपरका १०८ धारामा स्नान गरी दर्शन गर्दा पाइने आत्मिक शान्ति र सकारात्मक ऊर्जाको बयान शब्दमा गर्न सकिँदैन।
मुस्ताङको भौगोलिक बनावट अन्य पहाडी तथा हिमाली जिल्लाहरूभन्दा केही भिन्न छ। यहाँको खुला र रूखो भूभागमा चिसो हावा अत्यधिक चल्ने गर्छ। हिउँद लागेसँगै यस क्षेत्रमा तापक्रम माइनसमा झर्ने गरेको छ। पछिल्लो समय मौसम विभागले जनाए अनुसार हिमाली क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण हिमपात र अत्यधिक चिसो बढ्ने सम्भावना रहेको छ। मौसमको यही प्रतिकुलताले गर्दा जोमसोम, मुस्ताङ जाने हवाई तथा सडक मार्ग दुवै प्रभावित हुन सक्छ ।
पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि पर्यटकहरूको आवागमन महत्त्वपूर्ण हुन्छ, तर पर्यटकहरूको सुरक्षा सधैं पहिलो प्राथमिकता हुनुपर्छ। मुस्ताङको सौन्दर्य जति मनमोहक छ, यहाँको मौसमले सिर्जना गर्ने चुनौतीहरू पनि उत्तिकै जटिल छन्। त्यसैले, सम्बन्धित निकायले पनि समयमै सडकको अवस्थाबारे जानकारी दिने, जोखिमयुक्त क्षेत्रहरूमा सतर्कता अपनाउने र आपतकालीन उद्धारका लागि तयारी अवस्थामा बस्न आवश्यक छ।
यदी मुस्ताङ भ्रमणको योजना बनाइरहनुभएका सम्पूर्ण पर्यटकहरूलाई मौसम पूर्वानुमान नियमित रूपमा हेर्न, मौसम प्रतिकूल रहेको अवस्थामा यात्रा स्थगित वा केही समयका लागि स्थगन गर्न र स्थानीय सुरक्षा निकाय तथा पर्यटन व्यवसायीको सल्लाह बमोजिम मात्र अगाडि बढ्न आग्रह गरिन्छ। सुरक्षित यात्रा नै रमाइलो यात्राको पहिलो सर्त हो।



