“धर्म जुनसुकै होस्, त्यसको सार भक्ति, मानवता र नैतिकता एउटै हुन्छ” भन्ने यो भनाइले विश्वका सम्पूर्ण धार्मिक दर्शनहरूको गहिरो र वास्तविक मर्मलाई उजागर गर्दछ। बाहिरी आवरणमा हेर्दा संसारभरका धर्महरूका रीतिरिवाज, पूजा गर्ने शैली, प्रार्थना गर्ने तरिका, धार्मिक ग्रन्थ, भाषा र ऐतिहासिक पृष्ठभूमिहरू पूर्णतया भिन्न देखिन्छन्। कसैले मन्दिरमा गएर मूर्ति पूजा गर्छ, कसैले मस्जिदमा घुँडा टेकेर नमाज पढ्छ, कसैले चर्चमा क्रश अगाडि प्रार्थना गर्छ, कसैले गोम्पामा दीप प्रज्वलन गर्छ भने कसैले खुला प्रकृति र नदीनालालाई पुज्छ। यी सबै बाहिरी अभ्यासहरू फरक हुन सक्छन्, तर यी सबैको मुहान र गन्तव्य एउटै हो—त्यो हो मानिसलाई असल, इमानदार र करुणामय बनाउनु।
यदि हामीले विश्वका प्रमुख धर्महरू जस्तै हिन्दू धर्म, बौद्ध धर्म, इस्लाम धर्म, इसाई धर्म, सिख धर्म, जैन धर्म र किरात धर्म लगायतका दर्शनहरूको गहिरो अध्ययन गर्यौँ भने, हामीले एउटा साझा सत्य फेला पार्छौं। ती सबै धर्महरूको मूल उद्देश्य भनेको मानिसलाई पशु प्रवृत्तिबाट माथि उठाएर नैतिकवान् र सभ्य मानव बनाउनु हो। सबै धर्मले सत्य बोल्न, आफ्नो कर्मप्रतिको इमानदार हुन, ठूलालाई आदर र सानालाई प्रेम गर्न तथा दुःखी र गरिबहरूलाई सहयोग गर्न प्रेरित गर्छन्। कुनै पनि धर्मले हिंसा, घृणा, चोोरी, ढाँटछट वा कसैको अधिकार खोस्न सिकाउँदैन। बरु, हरेक धर्मले प्रेम, दया, क्षमाशीलता, परोपकार, संयम र अहिंसालाई नै धर्मको सर्वोच्च परिभाषा मानेको छ।
धर्म भनेको मूलतः मानिसको आन्तरिक शुद्धता हो। मानिसको मनभित्र रहेका विकारहरू जस्तै लोभ, मोह, क्रोध, अहंकार, ईर्ष्या र द्वेषलाई हटाएर त्यहाँ करुणा र सद्भावको बीज रोप्नु नै धर्मको खास काम हो। यदि कोही व्यक्ति मन्दिर वा मस्जिदमा गएर घण्टौं प्रार्थना गर्छ, तर उसको मनमा अरूप्रति घृणा र हिंसाको भावना छ भने त्यो धार्मिकता होइन, केवल आडम्बर मात्र हो। यसको विपरीत, यदि कोही मानिस कुनै पनि औपचारिक पूजापाठ गर्दैन, तर उसले निःस्वार्थ भावले दुःखीहरूको सेवा गर्छ र कसैलाई पनि दुःख दिँदैन भने त्यो नै सबैभन्दा ठूलो धर्म र मानवता हो। यसैले महात्मा गान्धी लगायतका महान् दार्शनिकहरूले “मानवता नै सबैभन्दा ठूलो धर्म हो” भनी जोड दिएका हुन्।
इतिहास र वर्तमान समयमा केही स्वार्थी तत्त्वहरूले धर्मलाई मानिसहरूबीच विभाजन ल्याउने, लडाउने र घृणा फैलाउने हतियारको रूपमा प्रयोग गरेको पाइन्छ। उनीहरूले आफ्ना बाहिरी कर्मकाण्ड र धार्मिक मान्यताहरूलाई मात्र सर्वोपरि ठानी अरूको धर्मप्रति असहिष्णुता देखाउने गर्छन्। तर यो धर्मको वास्तविक स्वरूप होइन। धर्म कहिल्यै पनि मानिसलाई आपसमा लडाउने साधन बन्न सक्दैन; धर्म त केवल जोडने सुत्र हो। जबसम्म हामी यो कुरा बुझ्दैनौँ कि ईश्वर वा परमशक्ति एकै हुन् र तिनलाई पुग्ने बाटोहरू मात्र अनेक हुन्, तबसम्म समाजमा शान्ति र सद्भाव कायम हुन गाह्रो हुन्छ।
निष्कर्षमा भन्नुपर्दा, नदीहरूका मुहान र बग्ने बाटा फरक भए पनि जसरी ती सबै अन्ततः समुद्रमै पुगेर मिल्छन्, त्यसैगरी विभिन्न धर्मका विधि र विधानहरू फरक भए पनि ती सबैको अन्तिम विन्दु मानवता, शान्ति र आत्मशुद्धिकै हो। “धर्म जुनसुकै होस्, त्यसको सार भक्ति, मानवता र नैतिकता एउटै हुन्छ” भन्ने सत्यलाई आत्मसात गर्न सक्यौं भने मात्र यो संसारमा वास्तविक अर्थमा शान्ति, सहिष्णुता र विश्व बन्धुत्वको भावना स्थापित हुन सक्छ।



