हाम्रो व्यावसायिक यात्रा: चन्द्रमा फोटो स्टुडियो देखि चन्द्रमा मिडिया हाउज र चम्पादेवी न्युज सम्म

वि.सं. २०५०/५१ सालतिरको समय प्रविधि र मिडियाका हिसाबले आजको जस्तो आधुनिक थिएन। त्यो समयमा तस्बिर (Photography) को अर्थ र महत्त्व निकै विशेष र आत्मीय थियो। त्यही परिप्रेक्ष्यमा ‘चन्द्रमा फोटो स्टुडियो’को रूपमा हाम्रा व्यावसायिक पाइलाहरू अगाडि बढेका थिए। सुरुआती दिनहरूमा राहदानी (Passport) बनाउनका लागि अनिवार्य रूपमा खिचिने फोटोहरू, विद्यालय भर्ना तथा प्रवेशपत्रका लागि चाहिने फोटोहरू, र विभिन्न सरकारी तथा गैर-सरकारी कार्यालयहरूमा प्रयोग हुने आधिकारिक तस्बिरहरू खिच्नु हाम्रो मुख्य कार्य हुन्थ्यो। त्यती बेला श्याम-स्वेत (ब्ल्याक एण्ड ह्वाइट) फोटोका पालामा  रोलमा फोटो खिचेर आफैँ डेभलप गरी इनार्जरको सहायताले डार्करूममा आफैँ प्रिन्ट गरिन्थ्यो। त्यसैगरी ठूला साइजका रङ्गीन फोटोहरू पनि म्यानुअल्ली डार्करूममै प्रिन्ट गरिन्थ्यो भने सामान्य एल्बम साइजका रङ्गीन फोटोहरू रोलमा खिचेर कलर ल्याबमा प्रिन्ट गराउन पठाउने चलन थियो।

केवल औपचारिक कामका लागि मात्र नभई, मानिसका अमूल्य क्षणहरूलाई पछिसम्मको सम्झना (Memory) को रूपमा सँगालेर राख्ने माध्यम पनि फोटोग्राफी नै थियो। स्टुडियोमा खिचिएका तस्बिरहरूलाई साना तथा ठूला आकारमा प्रिन्ट गर्ने, वर्षौसम्म सुरक्षित र आकर्षक बनाइराख्न कलात्मक फ्रेम (Frame) मा सजाउने, माउन्ट (Mount) गर्ने तथा लेमिनेशन (Lamination) गरेर सजाउने विशेष चलन थियो। ती सजिएका तस्बिरहरू पारिवारिक सम्बन्ध र सम्झनाका जीवन्त साक्षी थिए।

समयको गतिसँगै विवाह, व्रतबन्ध जस्ता शुभ कार्यहरूमा तस्बिरका साथै भिडियोग्राफी र भिडियो सम्पादन (Editing) को माग बढ्दै गयो। ग्राहकवर्गको अगाध विश्वासलाई ध्यानमा राख्दै, हामीले वि.सं. २०६०/६१ मा यसलाई विधिवत् रूपमा ‘चन्द्रमा मिडिया हाउज प्रा.लि.’ को रूपमा रूपान्तरण गर्‍यौँ।

हामीले उच्चस्तरीय (Quality) वेडिङ फोटो र सिनेमाटिक भिडियो निर्माणका साथै आधुनिक म्युजिक भिडियो, डिजिटल चलचित्र (Digital Film) र विभिन्न सरकारी तथा गैर-सरकारी संघ-संस्थाहरूका लागि स्तरीय वृत्तचित्र (Documentary) निर्माण गर्न थाल्यौँ। साथै, टेलिभिजनमा प्रसारण हुने सम्पुर्ण सामग्रीहरू उत्पादन गर्दै दृश्य कला र सञ्चारको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भयौँ। चन्द्रमा मिडिया हाउज केवल एउटा व्यावसायिक संस्था मात्र नभई सिर्जनात्मक सोच, अत्याधुनिक प्रविधि र पेसेवर टोलीको यस्तो संगम बन्यो, जसले दृश्य माध्यमबाट हरेक कथालाई जीवन्त रूप दिँदै आएको छ।

मिडिया क्षेत्रको  लामो अनुभव र प्रविधिसँगको यात्रापछि, ढिलै भए पनि चन्द्रमा मिडिया हाउज प्रा.लि.अन्तर्गत ‘चम्पादेवी न्युज’ (Champadevi News) नामक डिजिटल न्युज च्यानलको सुरुआत गरेका छौँ।

आजको डिजिटल युगमा सूचनाको सही, द्रुत र निष्पक्ष प्रवाह अति आवश्यक भइसकेको छ। ‘चम्पादेवी न्युज’ केवल खबर पुर्‍याउने माध्यम मात्र नभई जनताको आवाज, सत्यको पहरेदार र समृद्धिको सहयात्री बन्ने लक्ष्यका साथ अघि बढेको छ। आफ्नो जन्मभूमि र समग्र देशको सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणमा सञ्चार माध्यमका तर्फबाट रचनात्मक योगदान पुर्‍याउने हाम्रो उच्च उद्देश्य हो। गाउँ-ठाउँका ओझेलमा परेका वास्तविक समाचार उजागर गर्दै, ओझेलमा परेका प्रतिभालाई मञ्च दिँदै र उत्तरदायी पत्रकारिताको मर्मलाई आत्मसात् गर्दै अघि बढ्ने हाम्रो दृढ संकल्प छ। सुरुआती दिनको त्यो सादगी, निष्ठा र यहाँहरूको निरन्तरको साथ नै आजको हाम्रो यो विस्तारित यात्राको मुख्य शक्ति हो।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.